इस्टर सन्डे बम विस्फोटमा श्रीलङ्काका शीर्ष प्रहरी बर्खास्त
Pulse Khabar आइतबार, साउन ०४, २०८२
श्रीलङ्काको स्वतन्त्र नियामकले सन् २०१९ को इस्टर सन्डे बम विस्फोट रोक्न असफल भएकामा एक वरिष्ठ प्रहरी अधिकारीलाई बर्खास्त गरेको छ । उक्त बम विस्फोटमा ४५ विदेशीसहित दुई सय ७९ जनाको मृत्यु भएको थियो । राष्ट्रिय प्रहरी आयोगले इस्लामिक चरमपन्थीहरूको आसन्न आक्रमणको पूर्व चेतावनीलाई बेवास्ता गरेकामा तत्कालीन राज्य गुप्तचर सेवा (एसआइएस) का प्रमुख निलन्था जयवर्दनालाई बर्खास्त गरेको छ । अदालतको रेकर्डले जयवर्दनालाई सन् २०१९ अप्रिल २१ मा तीनवटा होटल र तीनवटा चर्चलाई लक्षित गरी भएको समन्वित आत्मघाती आक्रमणको १७ दिनअघि सम्भावित आतङ्कवादी हमलाका बारेमा सचेत गराइएको देखाएको छ ।
बम विस्फोटमा पाँच सयभन्दा बढी मानिस घाइते भएका थिए । सेवानिवृत्त न्यायाधीशको नेतृत्वमा अनुशासनात्मक अनुसन्धानले जयवर्दनालाई लापरवाही र कर्तव्य अवहेलनाका सबै सातवटा मामिलामा दोषी ठहर गरेको प्रहरी आयोगले शनिबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “आरोपको गम्भीरतालाई ध्यानमा राख्दै आयोगले उहाँलाई अधिकतम सजाय दिने निर्णय गरेको छ”, विज्ञप्तिमा भनिएको छ । नागरिकहरूमाथि श्रीलङ्काको सबैभन्दा खराब आतङ्कवादी आक्रमणका रूपमा इस्टर बम विस्फोटपछि जयवर्दनालाई एसआइएस प्रमुखको पदबाट हटाइयो तर प्रशासनको निरीक्षण गर्ने प्रहरी बलको उपप्रमुखको भूमिकामा बढुवा गरिएको थियो । यद्यपि उहाँविरुद्ध कारबाही गर्न बारम्बार न्यायिक आदेशपछि अनुशासनात्मक सुनुवाइका लागि उहाँलाई एक वर्षअघि अनिवार्य बिदामा राखिएको थियो ।
आक्रमणको केही समयपछि सुरु गरिएको उच्चस्तरीय अनुसन्धानले तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेना र जयवर्दनासहित उहाँका चार वरिष्ठ अधिकारीलाई उहाँहरूको गल्तीका लागि आपराधिक अभियोजनको सामना गर्नुपर्ने पत्ता लगाएको थियो । नागरिक मुद्दापछि सन् २०२३ जनवरीमा जारी गरिएका सर्वोच्च अदालतका आदेशहरू अनुसार उहाँहरूले पीडितहरूलाई १० लाख डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुभएको छ । सन् २०१९ को बम विस्फोटलाई इस्लामिक स्टेटप्रति वफादारीको वाचा गर्ने स्थानीय जिहादी समूहमाथि दोष लगाइएको थियो । राष्ट्रपति अनुरा कुमार दिसानायके नेतृत्वको श्रीलङ्काको नयाँ सरकारले इस्टर हमलाको अनुसन्धान बढाउने र बम विस्फोटका लागि जिम्मेवार व्यक्तिहरूको पर्दाफास गर्ने वाचा गरेको छ ।