२९ आश्विन २०८३, बिहिबार

पहिरोले बेनी बजारका १२ घरमा क्षति

Logo
Pulse Khabar बिहिबार, आश्विन १५, २०८३

म्याग्दी:जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र आज बिहान खसेको पहिरोले १२ घरमा क्षति पु¥याएको छ ।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी नगरपालिका–८ को न्युरोडमा खोरियाको पाखोबाट पहिरो खसेर १२ घरमा क्षति पु¥याएको हो । छ वटा घरभित्र पहिरोसँगैको लेदो पसेर बस्न नमिल्ने भएका छन् भने छ घरमा आशिंक क्षति पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । “बुधबार दिउँसोदेखि आज बिहानसम्म तीन पटक पहिरो खसेको छ । पाखोमा रहेका मुहानबाट बगेको भूमिगत पानीसँगै खसेको पहिरोबाट जोखिममा रहेका नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ”, उहाँले भन्नुभयो, “थप क्षति हुन नदिनका लागि प्राविधिक टोलीको अध्ययनसँगै पहिरो पन्छाउने र पानी तर्काउने काममा जुटेका छौँ ।”बेनीको न्युरोडका बासिन्दाले गएराति घर छाडेका थिए । कृषि विकास बैङ्क र ग्लोवल आइएमई बैङ्कको शाखा कार्यालयका महत्वपूर्ण सामग्री र कागजपत्र पनि सुरक्षित ठाउँमा सारिएको नगरप्रमुख केसीले जानकारी दिनुभयो । बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी र सुरक्षाकर्मीहरुको टोलीले पहिरोको जोखिममा रहेका घरभित्रबाट सामान सारिरहेका छन् । पहिरोको त्रासका कारण न्युरोडबासी रातभर जाग्राम बसेका स्थानीय चिरञ्जिवी शर्माले बताउनुभयो ।

पहिरो प्रभावित घरका डेरामा बस्नेहरूलाई खानाको व्यवस्था मिलाइएको बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । पछिल्लो चार दिनयता पहिरोले जमिन चिरा पार्ने क्रम बढेकामा बुधबारदेखि पहिरो खस्न थालेको उहाँले बताउनुभयो ।वडाध्यक्ष कर्माचार्यका अनुसार करिब ३०० मिटर उचाइ, ५०० मिटर चौडाइ र १०० मिटर लम्बाइमा खरबारी चिराचिरा परेर फुटेको छ । “पाखाका रूखहरू लडेका र ढल्किएका छन् । पानीको मुहान भएको ठाउँबाट सुरु भएको पहिरोले तल र माथि दुवैतर्फ असर गरेको छ । बेनी बजारमा खानेपानी आपूर्ति गराउने मुख्य पाइपलाइन पनि चुँडिएका र ठाउँठाउँमा भाँचिएका छन्,” उहाँले भन्नुभयो ।यो पहिरोले बेनीको न्युरोड र गणेशटोल क्षेत्रका करिब १०० घरलाई प्रभावित बनाउने जोखिम छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरो प्रभावित क्षेत्रको प्राविधिक अध्ययनका लागि तत्काल भूगर्भविद्को टोली पठाउन सम्बन्धित निकायमा पत्राचार गरिसकेको बताउनुभयो । भूगर्भविद्हरूको सुझावका आधारमा पहिरोको थप क्षति आकलन गर्न सकिने बताउँदै उहाँले सम्भावित जोखिम र क्षति हुन नदिनका लागि सावधानी अपनाउन बेनी बजारवासीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206