१४ आश्विन २०८३, बुधबार

सकियो भक्तपुरको पुलुकिसी जात्रा

Logo
Pulse Khabar बुधबार, आश्विन १४, २०८३

ख्वप (भक्तपुर):मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा पुलुकिसी (इन्द्रका बाहन ऐरावत हात्ती) जात्रा मनाएको छ ।

जात्रा साँझ भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भएको थियो । प्रत्येक वर्ष यही ठाउँबाट जात्रा सुरु हुने परम्परा छ ।जात्राका क्रममा पुलुकिसी अर्थात् इन्द्रका बाहन ऐरावत हात्तीलाई नगर परिक्रमा गराइएको हो । बाँसलगायतबाट हात्तीको आकार दिई बनाइएको पुलुकिसीलाई भक्तपुर नगर परिक्रमा गराइएको हो । बाँसबाट हात्ती आकार दिई त्यसलाई हात्तीको आकृति लेखिएको सेतो कपडाले छोपेर पुलुकिसी बनाइएको हो ।पुलुकिसीभित्र मानिस बसेर बोक्न मिल्ने गरी बनाइएको हुन्छ । त्यही पुलुकिसीलाई नगर परिक्रमा गराइ जात्रा मनाइएको हो । यो जात्रा हेर्न भक्तपुर नगरभरि उल्लासका साथ हजारौँ नागरिक सहभागी भएका थिए । पुलुकिसी परिक्रमा गराइने बाटोभरि हजारौँ दर्शक जात्रा हेर्न बसेका थिए । पुलुकिसीलाई ओहोरदोहोर गराइने र हेर्न रमाइलो लाग्ने स्थानीय जात्राप्रेमी कृष्ण प्रजापतिले बताउनुभयो । विशेष गरी भक्तपुर दरबार स्क्वायर, टौमढी, दतात्रयलगायतका चोकमा जात्रा हेर्नेको घुइँचो लागेको थियो ।पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एक जनाले अगाडि बसेर घण्ट बजाउनुभएको थियो । घण्ट बजाउँदै पुलुकिसी आएको सङ्केत दिँदै नगर परिक्रमा गराइएको थियो ।

यस क्रममा चोकचोकमा पुलुकिसीलाई ओहोर दोहोर गराइएको थियो । साथै पुलुकिसीसँग हिँडेका व्यत्तिले अगाडि छ्वाली बालेर बाटो तय गर्दै गएको दृश्य रमाइलो थियो ।जात्रा लाकुलाछेंबाट सुरु भई राति त्यही पुगेर टुङ्गिने चलन छ । योबीचमा लाकुलाछेंबाट गाइजात्राको क्रममा नगर परिक्रमा गराउने मार्ग भई पूरै नगर परिक्रमा गराइन्छ । लाकुलाछेंबाट पोटरी स्क्वायर, नासमना, इटाछे, दरबार स्क्वायरको रुटमा पुलुकिसीको परिक्रमा गराइएको थियो । दरबार स्क्वायरबाट पुन बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसीलाई दतात्रयमा ल्याइने चलन छ । त्यहाँबाट पुन इनाचो, गोल्मढी हुँदै टौमढी ल्याई लाकुलाछेमै पुगेर जात्रा सम्पन्न गर्ने चलन छ ।पुलुकिसी बनाएर जात्रा सुरु हुने लाकुलाछेस्थित भैरवनाथ जात्रा सहयोग समितिका अध्यक्ष शिवराम किजूका अनुसार जात्राका लागि आवश्यक सबै तयारी स्थानीयले गर्ने गर्छन् । पहिलाकै जोहो गरेका सामानबाट पुलुकिसी बनाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष पुलुकिसी बनाइ नगर परिक्रमा गरेपछि आफूहरूले ती सामानलाई अर्को वर्षका लागि स्थानीय पाटीमा जोहो गरेर राख्ने गरेका उहाँले बताउनुभयो ।पुलुकिसीलाई नगर परिक्रमा गराउने क्रममा पुलुकिसीको सुँडले छुवाउन नहुने जनविश्वास छ । नगर परिक्रमा गराउँदा सुँडले छोएमा बिरामी हुने वा मृत्युसम्म हुने जनविश्वास अहिले पनि कायमै छ । नगर परिक्रमा गराउने क्रममा तलातुंछी (इनार) मा पुगेपछि पानी खुवाउने चलन छ ।कला संस्कृति भजन महागुथिका संस्थापक अध्यक्ष डा इन्दुल केसीका अनुसार स्वर्गका राजा इन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफना छोरा खोज्न पृथ्वीलोकमा आएर घुमेको अर्थमा यो जात्रा मनाइँदै आएको छ । पारिजात फूल टिप्न पृथ्वी लोक आएका छोरालाई बन्धक बनाएपछि उहाँलाई खोजेर स्वर्गमा लैजान आफ्नो बाहन ऐरावत हात्तीलाई पृथ्वीमा घुम्न पठाएको किंवदन्ती रहेको उहाले बताउनुभयो । पुलुकिसी जात्रासँगै भक्तपुरको इन्द्रजात्रा सम्पन्न भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206