

काठमाडौं । देशभर सक्रिय मनसुनी प्रणालीका कारण आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यदेखि बदली र वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ भने ती प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरी चल्न सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेशका केही स्थान र मधेस प्रदेशलगायत पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम रहेको भन्दै प्रभावित हुनसक्ने क्षेत्रका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । साथै, ठूला तथा साना नदी, खोला र नालामा पानीको सतह बढ्न सक्ने, जनजीवन, कृषि, पर्यटन, स्वास्थ्य, सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सबैलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ ।