बागलुङ:बागलुङमा पछिल्लो तीन दिनयता बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ ।
जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा मंगलबार थप दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासू म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका रहेका छन् ।पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
एसपी फणिन्द्र प्रसाईंका अनुसार पहिरोले घर पुरिएपछि उद्धारका क्रममा दुई जनाको शव निकालिएको हो । यसअघि शनिबार पनि ताराखोलामै बाढीपहिरोमा परी एक जनाको मृत्यु भएको थियो । पछिल्लो घटनासँगै ताराखोला गाउँपालिकामा मात्रै बाढीपहिरोमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।बागलुङमा आइतबार पनि बाढीपहिरोले ठूलो क्षति पुर्याएको थियो । तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् । त्यस्तै, निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।लगातारको वर्षापछि जिल्लाका विभिन्न क्षेत्रमा पहिरो खस्दा बस्ती प्रभावित भएका छन् । घर तथा सडकमा समेत क्षति पुगेपछि स्थानीय त्रसित बनेका छन् ।
