

भोजपुर । भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकामा निर्माणाधीन २८ कोठे प्रशासनिक भवनको काम तीव्र गतिमा अघि बढिरहेको छ । भ्याटसहित करीब ७ करोड ५० लाख ४४ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको यो भवनको हालसम्म ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । आगामी भदौ महिनाभित्र निर्माण सक्ने लक्ष्य लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।
भवन निर्माणमा केन्द्र सरकार र गाउँपालिकाबीच ६०–४० प्रतिशत साझेदारी लगानीको व्यवस्था गरिएको छ । तर हालसम्म केन्द्र सरकारबाट २ करोड ३७ लाख रुपैयाँ मात्र प्राप्त भएको र बाँकी रकम गाउँपालिकाले अग्रिम रुपमा व्यवस्था गरेर काम अघि बढाएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।
गाउँपालिकाले अहिलेसम्म करीब ५ करोड रुपैयाँ लगानी गरिसकेको र हालसम्म कुल ६ करोड ९० लाख रुपैयाँ भुक्तानी भइसकेको अध्यक्ष राईले जानकारी दिए ।
गाउँपालिका प्रशासनिक सेवा प्रभावकारी बनाउनका लागि निर्माण भइरहेको यो भवनले स्थानीय सरकारलाई थप सहजता र सुविधा दिने अपेक्षा गरिएको छ ।