

पोखरा । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको पोखरा महानगरपालिका–१ मा पर्ने हरिचोक–याम्दी सडक तीन वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । निर्माणमा चरम ढिलासुस्ती हुँदा यात्रु र स्थानीयवासी अझै सास्ती भोगिरहेका छन् ।
काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले २०७९ साउनमा करिब दुई हजार दुई सय मिटर लामो सडक निर्माणको ठेक्का पाएको थियो । तर, कम्पनीको लापरबाही र अव्यवस्थित व्यवस्थापनका कारण काम समयमा अघि नबढेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।
आयोजना कार्यालयका इञ्जिनीयर किरण सुवेदीका अनुसार हालसम्म भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६६ प्रतिशत मात्र भएको छ । “पहिलो तहको कालोपत्र अन्तिम चरणमा पुगेको छ, दोस्रो तहको कालोपत्र, सडक मार्किङ र सौन्दर्यीकरण अझै बाँकी छ,” उनले बताए, “वर्षा भएकोले केही ढिलाइ भएको छ तर आगामी आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।”
विद्युत् पोल र खानेपानी व्यवस्थापन तथा भुक्तानी समस्या पनि निर्माण ढिलाइको कारण बनेको सुवेदीले बताए । पोखरा भित्रिने मुख्य प्रवेशद्वारको सडक कच्ची र अस्तव्यस्त हुँदा ट्राफिक जाम र दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय र यातायात व्यवसायीले पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् ।
ठेक्का दुई वर्षमा सक्ने सम्झौता भए पनि काम नसकिँदा दुई पटक म्याद थपिएको र काम तीव्र बनाउन दबाब दिइएको आयोजनाले जनाएको छ । गत वर्ष असार १५ मा स्थानीयले सडकमा रोपाइँ गर्दै विरोधसमेत गरेका थिए ।
पश्चिमका बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ हुँदै सयौँ गाडी पोखरा आउने यो मार्ग तत्काल सुधार नहुँदा असहज भइरहेको छ ।