झापा: अर्जुनधारा नगरपालिका–१ मदनपुरमा निर्माण भइरहेको एकीकृत विपद् व्यवस्थापन भवनको काम ९२(बयान्नब्बे) प्रतिशत सम्पन्न भएको छ ।
यस भवनको हालसम्म ९२ प्रतिशत भौतिक प्रगति र ८५ प्रतिशत वित्तीय प्रगति भएको अर्जुनधारा नगरपालिकाका इञ्जिनियर नीरज अधिकारीले जानकारी दिनुभयो । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रअन्तर्गत रु पाँच करोड २० लाख ९७ हजार ४९२ को लागतमा भवन निर्माण भइरहेको छ ।कालिका इञ्जिनियरिङ जेभी काठमाडौँले विसं २०८० मङ्सिर २१ गतेदेखि निर्माण कार्य सुरु गरेको हो । सुरुवाती सम्झौताअनुसार २०८२ असार १५ गतेभित्र काम सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्माण सम्पन्न गर्न दोस्रोपटक आगामी कात्तिक मसान्तसम्मका लागि म्याद थपिएको उहाँले बताउनुभयो । इञ्जिनियर अधिकारीका भन्नुहुन्छ, “यो म्याद नै अन्तिम हो । थपिएको म्यादमा काम सम्पन्न नभए निर्माण कम्पनीलाई कारबाही हुन्छ ।”स्वीस सरकार, कोशी प्रदेश सरकार र जिल्लाका चार स्थानीय तहको साझेदार लगानीमा यो केन्द्र बनिरहेको छ । यसमा कोशी प्रदेश सरकारको ५० प्रतिशत, बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको आठ–आठ प्रतिशत, बुद्धशान्ति गाउँपालिकाको छ प्रतिशत गरी स्थानीय तहको कूल ३० प्रतिशत र स्वीस सरकारको २० प्रतिशत लगानी रहेको छ ।
इञ्जिनियर अधिकारीका अनुसार भवन निर्माणलगायत मुख्य काम सकिएका छन् । हाल भवनको फिनिसिङ, झ्यालढोका जडान र रङरोगन गर्नेबाहेक अन्य काम सम्पन्न भइसकेका छन् । तोकिएको समयमै काम पूरा गरी भवन निर्माण कम्पनीले जिम्मा नदिए नेपाल सरकारको प्रचलित कानुन बमोजिम कारबाही हुने उहाँले बताउनुभयो ।यस एकीकृत विपद् व्यवस्थापन केन्द्रमा चार वटा दमकल, एउटा शववाहन र चार वटासम्म साना वाहन राख्न सकिनेछ । यसका साथै वाहन मर्मतका लागि ग्यारेज, एउटा वटा पानी जम्मा गर्ने रिजर्भियर (पोखरी), विपद् सामग्री भण्डारण गर्ने गोदाम, सुरक्षाकर्मी बस्ने आवास, एउटा किचन र एउटा प्रशासनिक भवनलगायतका अत्यावश्यक पूर्वाधार निर्माण गरिएको छ ।एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापनाको लागि सन् २०२१ जुन २ मा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र झापाका चार वटा स्थानीय तहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
