१० आश्विन २०८३, शनिबार

सप्तकोशीमा जलस्तरले नाघ्यो खतराको तह: रातो बत्ती बालियो, श्रीलंका टापु उच्च जोखिममा

Logo
Pulse Khabar शनिबार, आश्विन १०, २०८३

विराटनगर:पहाडी जिल्लाहरूमा भइरहेको निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेर खतराको तह (एक्स्ट्रीम डेन्जर) मा पुगेको छ ।

शनिबार (आज) बिहान ७ बजेको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ ।पानीको बहाव खतराको तह नाघेपछि कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये ४३ वटा ढोका खोलिएका छन् । साथै, सर्वसाधारणलाई सतर्क गराउन ब्यारेजका पूर्व, पश्चिम र मध्य भागमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ ।सामान्यतया कोशीमा १ लाख ५० हजार क्युसेक कटेपछि पश्चिमतर्फ, २ लाख कटेपछि पूर्वतर्फ र ३ लाख क्युसेक नाघेमा मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिन्छ ।यद्यपि कोशी ब्यारेजको निर्माण समयमा यसको भारवहन क्षमता ९ लाख ५० हजार क्युसेक मानिए पनि माथिल्लो भागमा लेदो र बालुवा थुप्रिएका कारण कम बहावमै पनि उच्च जोखिम सिर्जना हुने गरेको छ । यसअघि २०६५ भदौ २ गते १ लाख ६८ हजार क्युसेक पानी हुँदै पूर्वी तटबन्ध भत्किँदा कोशी गाउँपालिकाका चारवटा मानव बस्ती डुबानमा परेका थिए ।सप्तकोशीको पश्चिम भँगालोले धार परिवर्तन गर्दै सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ६ र ९ मा पर्ने श्रीलंका टापुमा कटान तीव्र पारेको छ । पानीको बहाव बढेसँगै त्यहाँका बासिन्दा त्राहिमाम बनेका छन् ।

स्थानीयका अनुसार कोशीको पश्चिम धारबाट पानी ओभरफ्लो भएर बस्तीतर्फ सोझिन थालेको छ । यस्तै, उदयपुरको बेलका नगरपालिका–८ स्थित भाटेपुलतर्फ पनि नदीले कटान बढाएकाले त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्नुपर्ने जोखिम बढेको छ ।यसअघि २०७९ साउन अन्तिम साता कोशीले बेलकाको डुम्रीबोटबाट धार परिवर्तन गरी बस्तीमा पस्दा बराहक्षेत्र र बेलकाका सयौँ परिवार विस्थापित भएका थिए । पूर्व र पश्चिम दुवैतर्फ कोशी नदीले घेरिएको श्रीलंका टापु भौगोलिक रूपमा अत्यन्तै संवेदनशील मानिन्छ ।कोशीमा पानीको सतह लगातार बढेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको टोलीले शुक्रबार साँझ ब्यारेज क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।अनुगमनका क्रममा मुख्यमन्त्री कार्कीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन र उद्धारका लागि तयारी अवस्थामा रहन प्रहरी–प्रशासनलाई निर्देशन दिएका छन् ।नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएकाले तटीय तथा आसपासका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206