कञ्चनपुर:भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानसँगै कञ्चनपुरमा बाढी तथा डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारिएको छ ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले सम्भावित विपद्का बेला उद्धार, राहत र नागरिकको सुरक्षालाई प्रभावकारी बनाउने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको हो ।बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले असोज ९ देखि ११ गतेसम्म वर्षा हुनसक्ने सम्भावना रहेकाले जिल्लाका स्थानीय तह तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।सम्भावित जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी गराउन सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा माइकिङमार्फत मौसमसम्बन्धी सूचना र चेतावनी प्रवाह गरिनेछ ।वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्नसक्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।जोखिम बढेमा स्थानीय तहले सुरक्षा निकायसँग समन्वय गरी प्रभावित नागरिकलाई विद्यालय तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउनेछन् ।त्यस्तै, शहरी क्षेत्रमा बाढी तथा डुबानको जोखिम घटाउन ढल तथा नहर सफाइ, पानीको निकास खुलाउने र अवरोध हटाउने कामलाई प्राथमिकतामा राखिएको छ ।
सम्भावित उद्धार कार्यका लागि डोजर, स्काभेटर, जाली, बोरा लगायतका सामग्री तयारी अवस्थामा राखिने भएको छ। स्थानीय तहसँगै सडक, सिँचाइ, पूर्वाधार तथा जलस्रोतसम्बन्धी कार्यालयलाई आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।विपद्का बेला तत्काल परिचालन गर्नुपर्ने उद्धार तथा राहत टोलीलाई तयारी अवस्थामा राखिनेछ । आवश्यकता अनुसार स्थानीय तह, सुरक्षा निकाय तथा सरकारी कार्यालयका कर्मचारीलाई तत्काल परिचालन गर्ने व्यवस्था मिलाइने भएको छ ।महाकाली नदी तथा जिल्लाका अन्य खोलानालामा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक निर्माण सामग्रीको व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।महाकाली नदीको तटबन्ध निर्माण तथा संरक्षणका लागि आवश्यक ठूला ढुंगा महाकाली पुल योजनाले उपलब्ध गराउनेछ। विभिन्न खोलाबाट निर्माण सामग्री ल्याउनुपर्ने अवस्थामा डिभिजन वन कार्यालयले आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ ।सम्भावित विपद्का कारण विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमलाई आवश्यक जनशक्ति तयारी अवस्थामा राख्न भनिएको छ ।
संवेदनशील क्षेत्रमा आवश्यकताअनुसार सुरक्षा जनशक्ति परिचालन गर्न सुरक्षा निकायलाई समेत निर्देशन दिइएको छ ।जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमार्फत जोखिमसम्बन्धी चेतावनी सन्देश तयार गरी आवश्यक परेको अवस्थामा नेपाल टेलिकममार्फत समूहगत सन्देश पठाउने व्यवस्था गरिनेछ ।यस्तै, आकस्मिक उपचार आवश्यक पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै महाकाली प्रादेशिक अस्पतालसहित सरकारी तथा निजी स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय भएको छ ।समितिले सम्भावित बाढी, डुबान तथा अन्य विपद्का बेला नागरिकको सुरक्षा, तत्काल उद्धार र राहतलाई प्रभावकारी बनाउन स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा सम्बन्धित सरकारी कार्यालयबीच निरन्तर समन्वय गरेर काम गर्ने निर्णय गरेको छ ।
