०८ आश्विन २०८३, बिहिबार

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

Logo
Pulse Khabar बिहिबार, आश्विन ०८, २०८३

भोजपुर:भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् ।

फल टिप्ने र पाक्ने समयमा खुर्सानीमा डढुवा लाग्ने, किरा पर्ने, बोट सुक्ने जस्ता रोग फैलिएपछि कृषक समस्यामा परेका हुन् ।भोजपुर नगरपालिका–५ बोखिमका अगुवा किसान अनिल श्रेष्ठले खुर्सानीको आधा पाटो सुक्ने ‘कोत्रे’ अर्थात् डढुवा रोग देखा परेको बताउनुभयो । यो रोगको सङ्क्रमण सुरु भएको एक साता नपुग्दै बारीको खुर्सानी पूर्ण रूपमा नष्ट हुने भएको उहाँले बताउनुभयो । विशेष गरी खुर्सानी पाक्ने र बिक्रीका लागि योग्य हुने बेलामा रोगको असर सबैभन्दा बढी देखिने गरेको छ । रोगका कारण किसानको वर्षभरिको मेहनत खेर गइरहेको उहाँको भनाइ छ ।खुर्सानी रातो भएर बोटमै पाक्न दिँदा कोत्रे रोगले बढी समात्ने र फल कुहिएर जाने भएकाले किसानले परिपक्व नहुँदै हरियो खुर्सानी टिपेर बजार पठाउन बाध्य भएका छन् । रोगका कारण खुर्सानीलाई रातो बनाएर बोटमा अड्याउनै नसकिने स्थिति बनेको किसानको गुनासो छ । स्थानीय कृषक सम्झना प्रधानका अनुसार मुख्य रोगका रूपमा कोत्रे (डढुवा) नै देखिए पनि खुर्सानीमा अन्य बहुआयामिक समस्या एकैसाथ थपिएका छन् ।खुर्सानीमा किरा लाग्ने, पात कुप्रो पर्ने र जरा कुहिने जस्ता रोगले उत्पादनमा समस्या हुने गरेको उहाँको भनाइ छ ।

“खुर्सानीमा डढुवा रोगको महामारी देखिएपछि हामी चिन्तामा परेका छौँ,” उहाँले भन्नुभयो, “डढुवा रोगले सबैभन्दा बढी आर्थिक क्षति पुर्‍याएको छ । खुर्सानी बारी नै सखाप पारेको अवस्था छ ।”रोगको सङ्क्रमण एउटा बोटबाट तीव्र रूपमा अन्य बोटमा सर्ने भएकाले थप क्षति हुन नदिन किसानहरूले बिग्रिएका र सङ्क्रमित बोट उखालेर नष्ट गर्न थालेका छन् । एउटा बोटमा देखिएको रोग केही दिनभित्रै सम्पूर्ण बारीभरि फैलिने भएकाले यसलाई नियन्त्रण गर्न कठिन भइरहेको किसानको भनाइ छ ।भोजपुरमा पछिल्ला वर्षमा परम्परागत खाद्यान्न बालीको विकल्पका रूपमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । नगदे बालीका रूपमा राम्रो आम्दानी दिने भएकाले साना तथा मझौला किसान यसतर्फ आकर्षित भएका थिए ।उत्पादनको सुरुवातमै रोग र किराको प्रकोप देखिएपछि उत्पादनमा गिरावट आउने अवस्था रहेको किसानको भनाइ छ ।खुर्सानीमा मुख्य समस्या देखिएको क्षेत्रमा स्थल तालिम सञ्चालनसँगै, विषादीको प्रयोग तथा अन्य रोकथामका उपायका विषयमा जानकारी दिने काम भईरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी घनश्याम बरालले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्लामा खुर्सानीमा देखिने डढुवा रोगको समस्या बढेको उहाँको भनाइ छ ।उहाँका अनुसार यस वर्ष भोजपुर जिल्लाभर करिब ५४५ हेक्टरमा अकबरे खुर्सानीको व्यावसायिक खेती भइरहेको छ । गत आर्थिक वर्षमा भोजपुरमा पाँच हजार २३२ मेट्रिकटन अकबरे खुर्सानी उत्पादन भएको थियो । जसबाट जिल्लामा रु २३ करोड भित्रिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी बरालले बताउनुभयो । जिल्लाको पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिकालगायतका क्षेत्रमा अकबरे खुर्सानी उत्पादन हुने गरेको छ । यी क्षेत्रमा उत्पादन भएका खुर्सानी स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडौँलगायतका सहर निकासी हुने गर्दछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206