भोजपुर:भोजपुरको दक्षिण क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाले स्थानीय किसानको आयआर्जन बढाउँदै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रविधिमैत्री तरकारीखेतीमा जोड दिएको छ ।
परम्परागत तथा निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गर्दै आधुनिक प्रविधि, नयाँ ज्ञान र व्यावसायिकतातर्फ किसानलाई आकर्षित गर्न गाउँपालिकाले अनुदान, प्राविधिक सहयोगका कार्यक्रम निरन्तर सञ्चालनमा ल्याएको हो ।गाउँपालिकाले कृषि क्षेत्रको चौतर्फी विकास र स्थानीय किसानको जीवनस्तर सुधारका लागि विशेष ध्यान दिँदै अघिल्लो आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरेर ६२ वटा प्लास्टिक टनेल निर्माणमा किसानलाई अनुदान सहयोग उपलब्ध गराएको थियो । मौसमी तथा बेमौसमी तरकारीखेतीका लागि प्लास्टिक टनेल निकै उपयोगी र प्रभावकारी हुने भएकाले किसानकै माग र आवश्यकताका आधारमा यो सहयोग उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख ज्योति देवानले जानकारी दिनुभयो ।त्यसैगरी, तरकारीखेतीका लागि सिँचाइ सुविधालाई सहज, दिगो र व्यवस्थित बनाउन गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा रु चार लाख बजेट विनियोजन गरी १७ वटा प्लास्टिक पोखरी निर्माण गरेको शाखा प्रमुख देवानले बताउनुभयो । यो आधुनिक प्रविधिबाट वर्षाको पानी सङ्कलन गरी सुक्खा याममासमेत सहज रूपमा सिँचाइ गर्न सकिने भएकाले किसानलाई बाह्रैमास तरकारीखेती गर्न राहत मिलेको छ ।चालु आवमा पनि गाउँपालिकाले किसानलक्षित कार्यक्रमलाई थप प्रभावकारी र व्यापक रूपमा निरन्तरता दिने भएको छ । यस आवमा पनि प्लास्टिक टनेल निर्माणका लागि रु पाँच लाख र प्लास्टिक पोखरी निर्माणका लागि रु पाँच लाख गरी कुल रु १० लाख बजेट विनियोजन गरिएको छ ।
विनियोजित बजेटमार्फत गाउँपालिकाभित्रका थप किसानलाई आधुनिक र प्रविधिमैत्री तरकारीखेतीमा जोड्ने कार्यक्रम सञ्चालन हुने कृषि विकास शाखाले जनाएको छ ।कृषि क्षेत्रमा विनियोजन गरिएको बजेट वास्तविक तथा मिहिनेत गर्ने किसानसम्म पुर्याउन अनुगमन तथा कार्यान्वयनको पाटोमा कडाइ गरिएको गाउँपालिकाले जनाएको छ । किसानको व्यावसायिक योजनाका आधारमा मात्र अनुदान सहयोग वितरण गरिँदै आएको छ ।बजेटको दुरुपयोग रोक्नका लागि किसानले प्लास्टिक टनेल निर्माणका लागि आवश्यक पर्ने बाँसको संरचना÷घर निर्माण र प्लास्टिक पोखरी निर्माणका लागि पोखरीको खाल्डो आफैँ खनेर तयार गरेपछि मात्र अनुदान बजेट उपलब्ध गराउने गरिएको शाखा प्रमुख देवानले जानकारी दिनुभयो । किसान स्वयंको श्रम र लगानी सहभागी भएपछि मात्र अनुदान रकम निकासा हुने भएकाले यो कार्यक्रम थप दिगो, प्रभावकारी र फलदायी बन्ने गाउँपालिकाको भनाइ छ । गाउँपालिकाबाट आवश्यक अनुदान, प्राविधिक परामर्श र सिँचाइका लागि पूर्वाधार सहयोग प्राप्त भएपछि स्थानीय किसान पनि व्यावसायिक तरकारीखेतीतर्फ निकै उत्साहित भएका छन् । प्लास्टिक टनेलमा बेमौसमी तरकारी उत्पादन गरी स्थानीय तथा बाह्य बजारमा बिक्रीवितरण गर्न सहजता भएको हतुवागढी–६ का स्थानीय किसान जगत राईले बताउनुभयो ।
किसानलाई तरकारीखेतीका लागि गाउँपालिकाले सञ्चालन गरिरहेको काम प्रभावकारी रहेको उहाँको भनाइ छ । गाउँपालिकाको यो अभियानले युवालाई वैदेशिक रोजगारमा जानबाट रोक्न र स्वदेशमै आत्मनिर्भर बनाई स्वरोजगार बनाउन सहयोग पुर्याउने उहाँले जानकारी दिनुभयो ।स्थानीयस्तरमै रोजगारीका नयाँ अवसर सृजना गर्दै गाउँपालिकालाई तरकारी उत्पादनका क्षेत्रमा पूर्ण रूपमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । गाउँपालिकाले किसानलाई आधुनिक र प्रविधिमैत्री खेतीमा जोड दिएको उहाँले जानकारी दिनुभयो । प्लाष्टिक टनेल र सिँचाइ पोखरी भएपछि किसानले सहज रूपमा तरकारी उत्पादन गर्न सक्ने उहाँको भनाइ छ । “गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउँदै किसानको आर्थिक अवस्था सबल बनाउनु नै हाम्रो मुख्य प्राथमिकता र दायित्व हो”, अध्यक्ष राईले भन्नुभयो, “पुराना र परम्परागत शैलीबाट खेती गर्दा धेरै श्रम र समय लागे पनि सोचेजस्तो प्रतिफल र आम्दानी प्राप्त हुन सक्दैन । त्यसैले हामीले आधुनिक प्रविधिमा आधारित व्यावसायिक तरकारीखेतीमा विशेष जोड दिएका हौँ । आगामी दिनमा पनि किसानको आवश्यकता र बजारको मागका आधारमा अनुदान, प्राविधिक तालिम, बीउबिजन र आधुनिक औजार हस्तान्तरणका कार्यक्रमलाई अझ सशक्त र प्रभावकारी बनाउने लक्ष्य रहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।
