०७ आश्विन २०८३, बुधबार

सुनौलो हजार दिनभित्र बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

Logo
Pulse Khabar बुधबार, आश्विन ०७, २०८३

चितवन: समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ ।

आठ वर्षभित्र आँखाको समस्या देखिएमा यसको समाधान गर्न सकिने चिकित्सकहरू बताउँछन् ।भरतपुर आँखा अस्पतालका बाल आँखारोग विशेषज्ञ डा मनिषा श्रेष्ठ जन्मिएको दुई वर्षभित्रमा आँखा परीक्षण गर्नुपर्नेमा जोड दिनुहुन्छ । दुई वर्षसम्ममा आँखाको विकासक्रम ८० प्रतिशत हुने जनाउँदै उहाँले यही समयभित्र परीक्षण गरे कुनै समस्या भएमा समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिकाहरूको दुई वर्षसम्मको समय आँखाका लागि निकै महत्त्वपूर्ण समय हो ।” यो समयलाई सुनौलो हजार दिन पनि भनिन्छ । यो समयमा नसकेमा आठ वर्ष नकटाउन उहाँले सुझाव दिनुभयो ।सामान्यतया गर्भधारणदेखि बच्चाको दुई वर्ष उमेरसम्मको समयलाई सुनौलो हजार दिन भनिन्छ । यो समय शिशुको वृद्धि, मस्तिष्क विकास, पोषण र हेरचाहका हिसाबले अति नै महत्त्वपूर्ण मानिन्छ । राम्रो पोषण, मायालु हेरचाह र सुरक्षित वातावरणले दिमागको विकास मजबुत हुन्छ, यसको असर पछि सिकाइ, स्वास्थ्य र समग्र जीवनमा देखिन्छ । यही समयमा आँखा परीक्षणसमेत गर्नुपर्ने श्रेष्ठको सुझाव छ । यही समयमा परीक्षण गर्दा अल्छी आँखा भएमा यो उपचारको माध्यमबाट निको हुने उहाँ बताउनुहुन्छ ।

बालबालिकामा आँखाको ढकनी झर्ने, आँखाको नानीमा फुलो पर्ने, मोतियाबिन्दु हुने, झिमझिम हुने, छड्के आँखाजस्ता समस्या देखापर्ने गर्दछ । ती समस्या शल्यक्रिया र चश्मामार्फत समाधान गर्न सकिने उहाँको भनाइ छ । बालबालिकाले धेरै नजिक गएर हेर्ने, झिमझिम गर्ने, आँखा पुछिरहने, पढाएको नबुझेर साथीसँग सोध्नेजस्ता लक्षण देखिएमा तत्काल परीक्षण गर्न उहाँको सुझाव छ । ३४ हप्ता र त्यसभन्दा अघि जन्मिएमा, बच्चाको तौल दुई किलोभन्दा तल भएका, लामो समय बाल सघन उपचारकक्षमा बसेका बच्चाहरूको तीनदेखि चार हप्तामा आँखाको परीक्षण गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।भरतपुर आँखा अस्पतालमा सन् २०२५ मा १९ हजार ३१४ बालबालिकाले आँखा उपचार सेवा लिएका थिए । अस्पताल आउने बिरामीमध्ये ११ प्रतिशत बालबालिका हुन् । यो सङ्ख्या सन् २०२४ मा १९ हजार ९१६ रहेको थियो । सन् २०२१ मा आठ हजार ३१, सन् २०२२ मा १३ हजार ९८९, सन् २०२३ मा १९ हजार ७७६ बालबालिकाले आँखाको परीक्षण गरेका थिए । यसमध्ये ५७ प्रतिशत हाराहारी बालक रहेको तथ्याङ्क छ । तीमध्ये सन् २०२५ मा ११९ जना, सन् २०२४ मा १०४ जना, सन् २०२३ मा १५८ जना, सन् २०२२ मा ९९ जना र सन् २०२१ मा ४८ जना बालबालिकाको आँखाको शल्यक्रिया गरिएको छ ।

उनीहरूको मोतियाबिन्दु र डेढो पनाको शल्यक्रिया गरिएको हो । अस्पतालका अध्यक्ष जयराम श्रेष्ठले चितवन र छिमेकी जिल्लामा रहेका आँखा अस्पताल, उपचार केन्द्र र शिविरमार्फत बालबालिकाको आँखा परीक्षण र उपचार गर्दै आएको बताउनुभयो । अस्पतालले भरतपुरसहित विभिन्न जिल्लाका २५ ठाउँबाट आँखा उपचार सेवा दिँदै आएको छ । विद्यालयहरूमा आँखा शिविरमार्फत बालबालिकाको निःशुल्क आँखा उपचार गरिँदै आइएको छ । अस्पतालले बच्चाबच्चीका लागि मात्रै गत आर्थिक वर्षमा ७० वटा विद्यालयमा निःशुल्क शिविर गरेको थियो । हरेक वर्ष विद्यालयमा शिवि मार्फत विद्यार्थीको आँखा परीक्षण गर्ने गरेको श्रेष्ठ बताउनुहुन्छ ।आमनागरिकलाई बालबालिकाको आँखा समयमा उपचार गर्न सकेमा आँखामा देखिएको समस्या समाधान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न नसक्दा अझै सबै बालबालिकाको आँखा परीक्षण हुन नसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206