काठमाडौँ: मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको मदन भण्डारी कप अन्तरराष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता यही असोज १२ देखि १७ गतेसम्म बुटवलमा हुने भएको छ ।
प्रतियोगितामा स्वदेशी र विदेशी गरी आठ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । छ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा स्वदेशी टिममा नेपाल पुलिस क्लब, नेपाल एपिएप क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब (सङ्खुवासभा) र गल्कोट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसमा प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् र सेमिफाइनलमा पुग्ने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीलाई रनिङ¬ शिल्डसहित रु सात लाख तथा उपविजेतालाई रु तीन लाख ५० हजार प्रदान गर्ने आयोजकको भनाइ छ ।
त्यसैगरी, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु एक लाख ७५ हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु १५ हजार, व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु आठ हजार नगदसहित सम्मान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले जनही रु पाँच हजार प्राप्त गर्नेछन् । उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु एक करोड ५३ लाख ४४ हजार ९०० खर्च हुनेले आयोजकको भनाइ छ ।
