३० आश्विन २०८३, शुक्रबार

कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

Logo
Pulse Khabar सोमबार, आश्विन ०५, २०८३

दमौली:तनहुँमा पहिलोपटक कालीगण्डकी करिडोरकेन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकालाई लक्षितगरी सञ्चालन गरेको कार्यक्रममार्फत पशुपालक किसानको गोठ सुधारदेखि आधुनिक उपकरण तथा प्रजनन पशु उपलब्ध गराउनेसम्मका कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार कार्यक्रमका लागि रु ६० लाख बजेट विनियोजन भएकामा रु ५८ लाख ८० हजार खर्च भएको छ । कालीगण्डकी करिडोर आसपासका ग्रामीण क्षेत्रमा पशुपालन व्यवसायलाई व्यावसायिक बनाउँदै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।कार्यक्रमअन्तर्गत दुईवटा गाईभैँसीपालक समूह तथा सहकारीमार्फत आठवटा नयाँ गोठ निर्माण गरिएको छ । त्यस्तै ३७ वटा गोठ मर्मत तथा सुधार गरिएको छ । पशुजन्य उत्पादनको गुणस्तर कायम राख्न तथा दूध सङ्कलन र व्यवस्थापनलाई सहज बनाउन डिपफ्रिज, मिल्क एनालाइजर र चिलिङ भ्याट उपलब्ध गराइएको ठकुरीले जानकारी दिनुभयो ।त्यसैगरी, दूध सङ्कलन तथा ढुवानीका लागि ७५ थान स्टिल क्यान, पशुको आहार व्यवस्थापनमा सहजताका लागि २५ थान ग्रास कटर र पशुको स्वास्थ्य तथा आरामका लागि ९५ थान काउम्याटलगायतका उपकरण खरिद गरी किसान तथा सहकारीलाई सहयोग गरिएको छ । पशुको नश्ल सुधार तथा उत्पादन क्षमता बढाउने उद्देश्यले एक प्रजनन राँगोसमेत वितरण गरिएको छ ।

कार्यक्रमअन्तर्गत बाख्रापालक कृषक सहकारीमार्फत २३ वटा नयाँ खोर निर्माण गरिएको छ । बाख्राको दाना तथा घाँस व्यवस्थापनलाई सहज बनाउन एउटा कम्बाइन मिल र एउटा चापकटर उपलब्ध गराइएको छ । त्यस्तै नश्ल सुधार तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले आठवटा प्रजनन बोका सहयोग गरिएको ठकुरीले बताउनुभयो ।कार्यक्रमबाट ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाका गरी ६९ जना किसान लाभान्वित भएका छन् । पशुपालनलाई निर्वाहमुखी अवस्थाबाट व्यवसायिकतातर्फ लैजान आवश्यक पूर्वाधार, उपकरण र प्रजनन पशुमा सहयोग केन्द्रित गरिएको कार्यालयले जनाएको छ । स्थानीय स्रोतसाधनको प्रयोगबाट उत्पादन लागत कम गर्न सकिने र किसानले उत्पादनबाट बढी लाभ लिनसक्ने पशु स्वास्थ्य प्राविधिक ठकुरीले बताउनुभयो । उहाँका अनुसार आधुनिक उपकरण, सुधारिएको गोठ, नश्ल सुधार तथा दूध सङ्कलनसम्बन्धी पूर्वाधारको विकासले पशुपालनलाई व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुग्नेछ ।कालीगण्डकी करिडोर आसपासका ग्रामीण क्षेत्रमा पशुपालनको सम्भावना रहेकाले पहिलोपटक सञ्चालन गरिएको यो कार्यक्रमले किसानलाई प्रत्यक्ष उत्पादनसँग जोड्ने आधार तयार गरेको केन्द्रको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206