०४ आश्विन २०८३, आइतबार

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

Logo
Pulse Khabar आइतबार, आश्विन ०४, २०८३

हुम्ला: कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

शनिबार पहिरोसँगै ठूला ढुङ्गा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो । पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्, सडकमा ठूलाठूला ढुङ्गा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ । जिल्ला सदरमुकाम सिमकोटमा आज सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेको अदानचुली गाउँपालिका–२ का कमल बुढाले बताउनुभयो । आफू श्रीमतीको कानको उपचारका लागि शनिबार बिहान गाउँबाट सिमकोटतर्फ आएको तर, छारेभिरमा पहिरो खसेपछि आफूहरू बीच बाटोमै रोकिनुपरेको बताउनुभयो ।“उहाँहरु पहिरोका कारण सर्केगाडको खडीखेतमा बसेर सडक खुल्ने आशामा पर्खिरहनुभएको छ । स्वास्थ्य शिविरमा उपचारका लागि जाने नागरिक सडक अवरुद्ध भएपछि समयमै सिमकोट पुग्न नसक्ने चिन्तामा छन्”, बुढाले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक खुलाउन पहल भइरहेको बताउनुभयो । उहाँका अनुसार सडकमा ठूला ढुङ्गा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन । सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहसहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको बताउनुभयो ।करिब १०० मिटर सडक क्षेत्रमा ठूला ढुङ्गा थुप्रिएकाले फुटाउनुपर्ने अवस्था छ । दुर्गम क्षेत्रमा आवश्यक साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी गुरागाईँले बताउनुभयो । उहाँका अनुसार आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भावतः पर्सि दिउँसोसम्म कर्णाली करिडोर सञ्चालनमा ल्याउने लक्ष्य छ ।वर्षायाममा बाढी, पहिरो र ढुङ्गा खस्ने समस्याका कारण कर्णाली करिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ । करिडोर अवरुद्ध हुँदा हुम्लाका नागरिकको आवतजावतसँगै उपचार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206