जनकपुरधाम:धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकमा घरमा लागेको आगलागीमा परेर एक जना पूर्वशिक्षकको मृत्यु भएको छ ।
आगलागीमा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो । महोत्तरीको लोहारपट्टी नगरपालिका–२ घर भएका सहनी अवकाशप्राप्त शिक्षक हुन् ।शनिबार राति घरमा अचानक आगो लागेपछि सहनी बाहिर निस्कन नसक्दा भित्रै जलेर मृत्यु भएको स्थानीयले बताएका छन् । आगलागीका बेला उनकी नातिनी भने घरबाट बाहिर निस्किएर ज्यान जोगाउन सफल भएकी छन् ।
घरमा आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन । प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरेको छ ।घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाएको छ । आगलागीबाट घरमा समेत क्षति पुगेको छ ।
