३० भाद्र २०८३, मंगलबार

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

Logo
Pulse Khabar मंगलबार, भाद्र ३०, २०८३

काठमाडौँ:रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।

उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका रुपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज १ गतेदेखि पूर्ण रुपमा यातायात सञ्चालन सुरु हुनेछ ।प्रधानमन्त्री वालेन्द्र शाहले यही भदौ १७ गते सङ्घीय संसद्मा सम्बोधनका क्रममा रसुवाको बाढीले क्षतिग्रस्त कृष्णभीर खण्ड भदौ महिना भित्रै सञ्चालनमा ल्याउने बताउनुभएको थियो । सोहीअनुसार पूर्वाधार विकास मन्त्रालयले उक्त खण्डमा ट्रयाक खोल्ने काम सुरु गरेको हो । सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढीका कारण उक्त सडकखण्डमा क्षति पुगेको थियो । त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको थियो । मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस) को सहयोगमा चार दिनसम्म स्थलगत प्राविधिक अध्ययन गरेको थियो । विज्ञहरुले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रुपमा सुझाव दिनुभएको थियो ।“विभागले विज्ञहरुबाट विभिन्न सुझाव लिएर भदौ १९ गतेदेखि रुख कटान सुरु गरेको थियो, कृष्णभीर क्षेत्रमा ३५ मिटर उचाइ र पहाडको भित्रतर्फ २० मिटर खनेर ट्रयाक निर्माण भइसकेको छ”, इन्जिनियर पौडेलले भन्नुभयो । उहाँका अनुसार सो कार्यमा प्राविधिकसहितका ५० जनाले निरन्तर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेका छन् ।

फलस्वरुप काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारीसाधन सञ्चालन भइसकेका छन् ।अहिले पनि बिहान र बेलुकाको समयमा अत्यावश्यक यातायातका साधन सञ्चालन भइरहेका छन् ।संयोजक पौडेलका अनुसार हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । “भदौ ३१ गतेसम्म ग्राभेलको काम पूरा हुनेछ । असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो ।नयाँ ट्रयाक सञ्चालनमा आएपछि माथिबाट पहिरो वा हिलो–लेदो खसेर पुनः यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई कम गर्नका लागि तयारी भइसकेको छ । माथिबाट पहिरो आएमा तत्कालै हटाउनका लागि आवश्यक उपकरणहरु तयारी अवस्थामा राखिएका उहाँको भनाइ छ ।विभागका अनुसार उक्त स्थानमा पानीसहितको लेदो आएर ग्राभेल बिगार्न सक्ने अवस्थालाई ध्यानमा राख्दै थप ग्राभेल सामग्री मौज्दात राखिएको छ । साथै पहाडभित्रबाट पानीको सिपेज सडकमा आउन सक्ने जोखिम कम गर्न ‘सर्फेस ड्रेनेज’को व्यवस्था गरिएको छ । माटोभित्रबाट आउने पानी सडकको संरचनामा प्रवेश गर्नुअघि उचित निकासमार्फत नालीमा पठाउने व्यवस्था पनि भइरहेको छ ।कृष्णभीर माथिपट्टी पहाडमा केही चिरा पनि देखिएका छन् ।

ती चिराबाट पानी भित्र पस्न नदिन आवश्यक तयारी पनि भइरहेको छ । चिरालाई उपलब्ध प्रविधि तथा रासायनिक पदार्थ प्रयोग गरी सिल गर्ने र प्लास्टिकले छोपेर पानी प्रवेश गर्न नदिने उपाय अपनाइनेछ ।कृष्णभीरको जोखिमलाई मध्यनजर गरी उक्त सडकखण्डको वैकल्पिक मार्गका रुपमा बेनीघाटदेखि फिस्लिङसम्मको करिब २० किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम पनि अघि बढाइएको छ । उक्त सडकमा यात्रुवाहक सवारीसाधन वैकिल्पक रुपमा सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ ।नयाँ ट्रयाकमा रातिको समयमा यात्रा सुरक्षित बनाउनका लागि सडक विभागले स्थानीय तहसँग समन्वय गरी बत्तीको व्यवस्था गर्ने तयारी भइरहेको जनाएको छ । साथै टल्किने स्टिकरलगायतका ट्राफिक सुरक्षा सामग्री पनि राखिनेछन् । हाल निर्माणका क्रममा बिहान करिब ६ देखि ७ बजेको बीचमा र बेलुका ६ देखि ७ बजेको बीचमा सवारीसाधनलाई आवतजावत गर्न दिइँदै आएको छ भने अत्यावश्यक अवस्थामा निर्माण कार्य रोक्दै सवारीसाधनलाई पास गराउने व्यवस्था गरिएको छ । रातिको समयमा भने सडक पूर्ण रूपमा बन्द गरिएको छ ।यही भदौ १० गते भोटेकोशीमा गएको बाढीले कृष्णभीरको ‘सुरक्षा पर्खाल’मा क्षति पु¥याएको थियो भने भदौ १४ गते गएको अर्को बाढीले उक्त पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206