२९ भाद्र २०८३, सोमबार

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

Logo
Pulse Khabar सोमबार, भाद्र २९, २०८३

काठमाडौँ:नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो । आज दिउँसो महाकवि देवकोटा सङ्ग्रहालय मैतीदेवीमा ‘महाकवि देवकोटा मिथ र यथार्थ’ विषयक गोष्ठी गर्न लागिएको उहाँले बताउनुभयो । कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृतिपत्र र महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ । महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते अर्थात् कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा)का दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । उहाँको निधन भने २०१६ साल भदौ २९ गते भएको हो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाउनुभयो । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो ।नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताउनुभएको थियो ।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा उहाँले महत्त्वपूर्ण योगदान दिनुभएको थियो । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गर्नुभयो ।विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनुभएको थियो । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन हो ।तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकैदिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता हो । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गर्नुभयो । उहाँले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गर्नुभएको छ । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’, ‘सुन्दरी प्रोजर्पिना’जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206