०१ आषाढ २०८३, सोमबार

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेतीमा आत्मनिर्भर सरोज

Logo
Pulse Khabar शनिबार, आषाढ २१, २०८२

खोटाङ । विदेशमा दुःख गरेर बिताएका वर्षहरूलाई पछाडि छाडेर गाउँ फर्किएका खोटाङ रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई अहिले आफ्नै पाखो बारीमा व्यावसायिक ड्रागन फ्रुट खेतीमा रमाइरहेका छन् । सन् २००९ मा रोजगारीको खोजीमा युएई (दुबई)  पुगेका सरोजले तीन वर्षको मेहनतपछि थोरै पूँजी र धेरै अनुभव लिएर सन् २०१२ मा स्वदेश फर्किएका थिए ।

विदेशमा पसिना बगाउँदा भोगेको पीडा सम्झेर फेरि विदेश नजाने निर्णय गरेका सरोजले गाउँमै केही गर्ने सोच बनाए । स्वदेश फर्किएपछि सुरुमा उनले बङ्गुर फार्म खोले । उत्पादन राम्रो हुँदै गए पनि बजारमा बङ्गुर नबिकेपछि ठूलो घाटा व्यहोर्नुपर्‍यो । करिब १८ लाख रुपैयाँ नोक्सानीपछि उनले बङ्गुरपालन बन्द गरे र बाख्रापालनमा हात हाले। तर बाख्रापालन पनि जनशक्ति अभावका कारण लामो समय टिकेन ।

तर सम्भावनाको खोजीमा लागिरहेकै बेला युट्युबमा हेरेको एउटा भिडियोले उनको जीवन मोडिदियो । भारतको हैदरावादमा ड्रागन फ्रुट खेती गर्ने तालिमबारे जानकारी पाएपछि उनी तालिम लिन हप्तादिनका लागि भारत पुगे । तालिम सकेर फर्किँदा उनीसँग २५० वटा बिरुवा थिए, जुन उनले आफ्नो पाखो बारीमा रोपे ।

आज सरोजको फार्ममा करिब २,७०० वटा ड्रागन फ्रुटका बोट छन् । सुरुमा २५० बिरुवाबाट सुरु भएको खेती अहिले गाउँकै नमुना बनेको छ। उनको फार्ममा अहिले राताम्मे फलले भरिएका बोटहरू टिप्न तयार छन् ।

गत वर्ष मात्र उनको फार्मबाट २,००० केजी ड्रागन फ्रुट बिक्री भएको थियो । यस वर्ष उत्पादन ३,००० केजी नाघ्ने अनुमान छ। एक केजीको खुद्रा मूल्य ३०० रुपैयाँ कायम गर्दा उनको गत वर्ष करिब ६ लाख रुपैयाँ आम्दानी भयो । ग्राहकहरू फार्ममै पुगेर ताजा ड्रागन फ्रुट किन्दै, हेर्दै र रमाउँदै फर्कन्छन् । सामाजिक सञ्जालमा पाकेको ड्रागन फ्रुटको सूचना राखेपछि धेरैले बारीमै पुगेर फल किनेको उनले सुनाए ।

‘म माग अनुसारको आपूर्ति गर्न अहिले पनि नयाँ जग्गामा विस्तार गर्दै छु,’ उनले भने, ‘आगामी वर्षहरूमा प्रतिकेजी ५०० रुपैयाँसम्म बिक्री गर्ने लक्ष्यसहित विस्तार गरिरहेको छु ।’

२० रोपनी पाखो बारीमा रोपिएका ड्रागन फ्रुटमा अहिले व्यावसायिक सम्भावना देखेर गाउँपालिकाले समेत उनलाई दुई लाख रुपैयाँ पिलर र टायर खरिदका लागि अनुदान दिएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाका अनुसार, भविष्यमा पनि यस्तो युवा कृषकलाई थप सहयोग गर्ने योजना छ ।

ड्रागन फ्रुटसँगै उनले बारीमा आँप, कागती, केरा र मौरीपालन पनि सुरु गरेका छन्। आँप र कागतीका बिरुवा हुर्किंदै छन् भने केरा र मौरीले उत्पादन दिन थालेका छन् ।

ड्रागन फ्रुट खेतीबारे उनले थपे, ‘एकपटक बिरुवा लगाएपछि सामान्य गोडमेल र सिँचाइबाहेक धेरै मिहिनेत गर्नुपर्दैन। एउटै बिरुवाबाट २०–२५ वर्षसम्म उत्पादन पाइन्छ ।’ उनका अनुसार ड्रागन फ्रुटको बोटले हरेक वर्ष ८ पटकसम्म फल दिन्छ ।

ड्रागन फ्रुट पाक्न फूल फुलेको ३५–४५ दिन पर्छ र टिपेपछि पनि १०–१५ दिन बिग्रँदैन । यिनै कारणले नेपाली बजारमा यसको माग बढिरहेको उनले बताए । औषधीय गुणले भरिपूर्ण यो फल अहिलेसम्म नेपालमा नौलो भएकाले यसको सम्भावना अझ ठूलो रहेको उनी बताउँछन् ।

४ जनाको परिवारमा श्रीमती कौशिला लिम्बू र एक छोरा, एक छोरीसँग बस्दै आएका सरोजलाई श्रीमतीले साथ दिएकी छन् । झापाको गोमेन्द्र बहुमुखी क्याम्पसबाट व्यवस्थापनमा स्नातक पढेका सरोजले २०७६ सालबाट ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेका हुन् ।

‘काम गर्ने आँट र जाँगर भए आफ्नै गाउँमा बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ,’ सरोज भन्छन्, ‘हामीजस्ता युवाहरू विदेश जानुभन्दा आफ्नै माटोमा पसिना बगाउनु पर्छ ।’

उनको माग छ — कृषि क्षेत्रमा उत्पादनमुखी अनुदान दिनुपर्ने र बजार प्रवर्द्धन गर्न सरकारले भूमिका खेल्नुपर्छ । ‘राजनीतिक स्वार्थभन्दा माथि उठेर किसानलाई सहयोग गरियो भने कृषि पेसा आकर्षक हुन्छ,’ उनले भने ।

विदेश फर्किएका एक सामान्य युवा अहिले गाउँमा हजारौँ किलो फल बेच्ने उद्यमी बनेका छन् । उनले प्रमाणित गरेका छन् — इच्छाशक्ति र परिश्रमले देशमै पनि धेरै गर्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206