ताप्लेजुङ:ताप्लेजुङमा अलैँचीको मूल्य बढेर प्रतिमन ८५ हजार रुपैयाँ पुगेको छ ।
सदरमुकाम फुङ्लिङमा अलैँची प्रतिमन (४० किलो) ८५ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ ।जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची यहाँका किसानको आम्दानीको महत्वपूर्ण स्रोत हो। जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक अधिकांश वडामा अलैँची खेती हुँदै आएको छ ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ ।अलैँचीको उत्पादन र बजार मूल्यले किसानको आयआर्जनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले जिल्लाका अधिकांश किसान यसको खेतीमा आबद्ध छन् । मैवाखोला गाउँपालिका–३ साँघुका किसान भट्टीमा अलैँची सुकाउँदै गरेका देखिन्छन् ।
