गोरखा:यही भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीमा परेर ज्यान गुमाएकाहरूको सम्झनामा सामूहिक श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।
उक्त बाढीमा परी ज्यान गुमाएका गोरखाको पालुङटार नगरपालिकाका ३३ जनासहितको सम्झनामा सामूहिक श्रद्धाञ्जलीसभा भएको हो । सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरिसकेकाले पालुङटारमा पनि बाढीमा ज्यान गुमाएका पालिकावासीसहित मुलुकभरका नागरिकको सम्झनामा श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो । भोटेकोशी बाढीमा परेर पालुङटार नगरपालिकाभित्रका ३७ जना बेपत्ता भएका थिए । रसुवाको गोसाइँकुण्ड तीर्थ गएका ३० र अन्य सात जना बेपत्ता परेका हुन् । तीमध्ये हालसम्म पाँच जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।उहाँका अनुसार २४ जनाको भने कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । एक जनाको भने दाहसंस्कार गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । “तीर्थ गएकाहरूबाहेक विभिन्न प्रयोजनका लागि त्यहाँ पुगेका सात जना पनि बेपत्ता छन् । चार जनाको कुशको शव बनाएर अन्त्यष्टि गरिसकियो । अन्यको खोजी भइरहेको छ”, सहायक प्रजिअ शर्माले भन्नुभयो ।
यसैबीच, गण्डकी प्रदेश सरकारले बाढीमा परी ज्यान गुमाएका वा बेपत्ता भएकाहरूको परिवारलाई प्रतिपरिवार रु एक लाख, किरिया खर्चबापत थप रु २५ हजार र बाढीमा परी घाइते भएकाले उपचार खर्चबापत रु ५० हजार उपलब्ध गराउने निर्णय भएको सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो । पालुङटार नगरपालिकाले भने तत्काल बैठक बसेर प्रदेश सरकारको राहतसँग नबाझिने गरी बाढीमा आफन्त गुमाएका परिवारलाई छुट्टै राहत उपलब्ध गराउने नगरप्रमुख विवश चिन्तनले बताउनुभयो ।जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, गोरखा श्रेत्र नं २ का सांसद कबिन्द्र बुर्लाकोटी, गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फडिन्द्र देवकोटा, पालिकाका जनप्रतिनिधि र स्थानीयको सहभागितामा श्रद्धाञ्जलीसभा सम्पन्न थियो ।
