काठमाडौं:भदौ १० गते आएको भोटेकोशी नदीको बाढीले चार जिल्लाको खानेपानी प्रणालीमा ठूलो क्षति पुर्याएको छ ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका गरी ५५ वटा खानेपानी आयोजना तहसनहस भएका छन् ।खानेपानी तथा ढल व्यवस्थापन विभागले गरेको प्रारम्भिक मूल्यांकन अनुसार बाढीबाट क्षतिग्रस्त खानेपानी आयोजनामा करिब ६४ करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ । यद्यपि, क्षतिको यकिन विवरण संकलन गर्ने काम अझै जारी रहेकाले यो रकम बढ्न सक्ने विभागले जनाएको छ ।बाढीको सबैभन्दा ठूलो असर नुवाकोटमा परेको छ । जिल्लाका २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको विभागको प्रारम्भिक विवरण छ । ती आयोजनामा मात्रै करिब चार करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार धादिङका २०, रसुवाका आठ र गोरखाका पाँचवटा खानेपानी आयोजना पनि बाढीबाट प्रभावित भएका छन् । बाढीले खानेपानीका मुहान, पाइपलाइन, पम्पिङ प्रणाली तथा अन्य संरचनामा क्षति पुर्याउँदा कतिपय स्थानमा नियमित पानी वितरण अवरुद्ध भएको छ ।खानेपानीको समस्या तत्काल समाधान गर्न विभागले प्रभावित क्षेत्रमा वैकल्पिक व्यवस्थाबाट सेवा सञ्चालन गर्न थालेको छ । क्षतिग्रस्त संरचनाको मर्मतसँगै अस्थायी स्रोतबाट पानी उपलब्ध गराउने कामलाई प्राथमिकतामा राखिएको विभागले जनाएको छ ।नुवाकोटको विदुर क्षेत्रमा खानेपानी वितरण सहज बनाउन १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ । उक्त जेनेरेटरबाट दैनिक करिब पाँच लाख लिटर पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
बट्टार क्षेत्रमा भने एक एचपी क्षमताका सातवटा पम्प सञ्चालनमा ल्याएर करिब ५०० घरपरिवारमा खानेपानी सेवा पुनः सुरु गरिएको छ । त्यस्तै, काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँगको समन्वयमा भदौ १२ गतेदेखि चारवटा ट्यांकर परिचालन गरी विदुर र बट्टार क्षेत्रका विभिन्न बस्तीमा पानी वितरण भइरहेको छ ।बाढी प्रभावित अन्य क्षेत्रमा पनि सेवा विस्तारको तयारी भइरहेको छ । त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका प्रभावित बस्तीका लागि आवश्यक पम्प, ट्यांकी र पाइपलगायत सामग्री तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।विभागका अनुसार दुई एचपी र एक एचपी क्षमताका गरी १४ वटा पम्प, एक हजार लिटर क्षमताको हिलटेक ट्यांकी तथा करिब ४१.१ किलोमिटर एचडीपीइ पाइप प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ । आवश्यकताअनुसार यी सामग्री ढुवानी गरी जडान गरेर खानेपानी सेवा विस्तार गरिनेछ ।बाढीले क्षति पुर्याएका संरचनाको पुनःस्थापना र नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको विभागले जनाएको छ । तत्काल पानी उपलब्ध गराउने व्यवस्थासँगै क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणलाई पनि अघि बढाइने विभागको भनाइ छ ।क्षतिको विस्तृत विवरण प्राप्त भएपछि प्रभावित आयोजनाको आवश्यकता र क्षतिको अवस्थाका आधारमा थप पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ । बाढीबाट प्रभावित बस्तीमा खानेपानीको संकट लम्बिन नदिन तत्कालीन व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनालाई सँगसँगै अघि बढाइएको विभागको भनाइ छ ।
