१८ भाद्र २०८३, बिहिबार

जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

Logo
Pulse Khabar बिहिबार, भाद्र १८, २०८३

म्याग्दी: म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच सुरु गरेको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने उद्देश्यसहित जलजला गाउँपालिका–३ पर्वत बेनीमा बुधबारदेखि नापजाँच सुरु गरेको हो । समितिका अध्यक्ष पनि रहनुभएका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जग्गा नापजाँचको काम सुरु भएको जानकारी दिनुभयो । “वडा र गाउँपालिकाले प्रमाणित गरेका निवेदकको जग्गाको स्थलगत नापजाँच गर्न थालिएको छ,” उहाँले भन्नुभयो, “अन्य वडा र पालिकामा पनि सो काम अगाडि बढ्छ ।”आवश्यक प्रतिवेदन तयार पारी जग्गा पहिचान, कित्ताकाट, सार्वजनिक जग्गालाई सरकारबाट व्यक्तिको नाममा दिन स्रेस्ता कायम गरिनेछ । त्यसपछि पालिकामै पुगेर जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने कार्ययोजना बनाइएको छ । यसअघिका जिल्ला भूमि आयोगमा रहेका अभिलेख र निवेदनका आधारमा नापजाँचको काम थालिएको हो । एक हजार ८८ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको निवेदन स्थानीय तहबाट प्रमाणीकरण भएर समितिमा आएको नापी कार्यालय पर्वतका प्रमुख नापी अधिकृत दिनेश लामिछानेले बताउनुभयो ।

“जलजला गाउँपालिकाबाट ३४० जनाको निवेदन प्रमाणीकरण भएर आएको छ,” उहाँले भन्नुभयो, “नापजाँचसँगै समितिको कार्यादेश र क्षेत्राधिकार तथा मापदण्डका आधारमा जग्गाधनी प्रमाणपत्र वितरणको तयारी गरिएको छ ।” नापजाँचपछि विधि, प्रक्रिया र मापदण्डअनुसार दिन मिल्ने जग्गा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई उपलब्ध गराउने र नमिल्ने सार्वजनिक जग्गा खाली गरी संरक्षण गरिने जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । स्थानीय यमुना परियारले करिब तीन दशकदेखि बस्दै आएको जग्गाको नापजाँच भएपछि लालपुर्जा पाउने आशा पलाएको बताउनुभयो । “जग्गाधनी प्रमाणपुर्जाको आशमा निवेदन दिएको वर्षांैपछि नापजाँच सुरु भएकामा खुसी लागेको छ,” उहाँले भन्नुभयो, “लालपुर्जा पाउने आशा जागेको छ ।”

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206