ललितपुर : ललितपुरका मल्ल राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालन हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ ।
हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा यस वर्ष मङ्गलबार सम्पन्न भएको हो । कुनै पनि दैवी प्रकोप नहोस् तथा विश्वमा शान्ति कायम रहोस् भन्ने कामनासहित यो जात्रा मनाउने गरिन्छ ।ललितपुरका छ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताका आधारमा पालैपालो जात्राको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिएर सञ्चालन गर्ने परम्परा रहिआएको छ । यस वर्ष अग्निशाला वःलिम्हका भूपति राजानन्द राजोपाध्यायको परिवारले जात्रा सञ्चालन गरेको हो ।भगवान् विष्णुले नृसिंह अवतार धारण गरी दानव हिरण्यकशिपुको वध गरेको पौराणिक घटनाको स्मरणमा यो जात्रा सञ्चालन गरिन्छ । बाजागाजा तथा भजन टोलीसहित नृसिंहको स्वरूपलाई ललितपुरको प्राचीन नगर परिक्रमा गराइन्छ । नृसिंहतर्फ फर्केर हातमा धूप लिएर प्रणाम गर्दै भक्त प्रह्लादले जस्तै उल्टो पाइला चाल्दै नगर परिक्रमा गर्ने विशेष परम्परा यस जात्रामा रहेको छ ।नृसिंहको दायाँ–बायाँ लक्ष्मी र सरस्वतीलाई राख्ने चलन छ भने जात्रामा छ जोडी कन्याको समेत सहभागिता रहने गर्दछ । पालो परेको परिवारका पुरोहित, ज्वाइँ वा भाञ्जामध्ये एक जना नृसिंहको स्वरूप धारण गरी ललितपुरको प्राचीन नगरीको सायाः अर्थात् सापारु मार्गमा नगर परिक्रमा गर्ने परम्परा रहेको छ ।
नृसिंह जात्राका क्रममा बाजागाजा र प्रत्यक्ष भजनसहित नृसिंह देवगणको टोलीले पाटनका गाबहाल, पिम्बहाल, बङ्गलामुखी, कोबहाल, मङ्गलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टङ्गल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डीलगायत विभिन्न स्थानको परिक्रमा गर्ने गर्दछ ।जात्राको क्रममा विभिन्न स्थानमा नृसिंहलगायत देवताहरूको विसर्जन गरी पूजापाठ गर्ने चलनसमेत रहेको छ । नृसिंह यात्राका क्रममा नृसिंहले आफ्नो पछाडि लतार्दै कपडाको पुतली ल्याउने विशेष परम्परा पनि रहेको छ । जात्राको क्रममा उक्त कपडाको पुतलीलाई बालबालिकालाई ढोगाउने चलन छ । यसरी कपडाको पुतलीलाई ढोगाउँदा बालबालिकाको रक्षा हुने र उनीहरूलाई शुभ हुने धार्मिक तथा सांस्कृतिक विश्वास रहेको छ ।ललितपुरमा नृसिंहका दुई फरक स्वरूप रहेको मानिन्छ । कार्तिक नाचमा प्रस्तुत गरिने नृसिंहलाई उग्र स्वरूपका रूपमा लिइन्छ भने उपालकं सायाःका नृसिंहलाई शान्त स्वभावको नृसिंहका रूपमा मान्ने गरिन्छ ।ऐतिहासिक दस्तावेजअनुसार नेपाल संवत् ७५१ अर्थात् विक्रम संवत् १६८८ देखि नृसिंह जात्रा सञ्चालन हुँदै आएको उल्लेख पाइन्छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो जात्रा ललितपुरको मौलिक सांस्कृतिक परम्परा र जीवन्त सम्पदाका रूपमा आजसम्म निरन्तर रहँदै आएको छ ।
