१६ भाद्र २०८३, मंगलबार

भोटेकोशी बाढीपीडितका साथमा पोखरेली

Logo
Pulse Khabar मंगलबार, भाद्र १६, २०८३

कास्की:पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रको डोमभित्र सोमबार अपराह्न चहलपहल थियो ।

कोही चामलका बोरा बोकेर आइरहेका थिए भने कोही स्कुटर र गाडीमा आएर सामानका पोका झार्दै फर्कदै गरिरहेका थिए । नीलो कुर्था र सेतो सुरुवाल लगाएका महिला भ्यानबाट ओर्लेर धमाधम सामान झार्न थाले । महानगर प्रहरीले उनीहरुलाई सघाइरहेका थिए । उनीहरु थिए पोखरा–१५ नयाँगाउँस्थित बगैँचा मन्टेश्वरीका शिक्षक तथा कर्मचारी । भोटेकोशी बाढीपीडितका लागि खाद्यान्न तथा अन्य राहत सामग्री लिएर शिक्षक कर्मचारी त्यहाँ पुगेका थिए । उनीहरूले करिब रु ३५ हजार बराबरको चामल, गेडागुडी, चाउचाउ, बिस्कुटलगायत खाद्यान्न बाढी पीडितका लागि ल्याएका थिए । विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति पु¥याएपछि पोखरामा पनि त्यसको पीडा महसुस हुन थालेको छ । बाढीले ठूलो मानवीय क्षति भयो भने कैयौँ पुल सडकलगायत संरचना बगे । विद्यालयसमेत बगाउँदा विद्यार्थी, शिक्षक र कर्मचारी प्रभावित बने । “देशको एउटा कुनामा हाम्रा धेरै साथी बाढीबाट पीडित हुनुहुन्छ । हामी सुरक्षित स्थानमा बसेर हेरिरहन सकेनौँ । त्यसैले आफ्नो ठाउँबाट जे सक्छौँ, त्यही सहयोग गर्ने कोसिस गरेका हौँ”, बगैँचा मन्टेश्वरी प्रि स्कुलका संस्थापक प्रिन्सिपल रञ्जता रेग्मीले भन्नुभयो । विपद्का बेला पीडितलाई सहयोग गर्नु मानवीय दायित्व भएको उहाँको भनाइ छ ।

विपद्मा परेकालाई सहयोग गर्न पोखरेली सङ्घसंस्था तथा व्यावसायिक प्रतिष्ठानले आफूले सकेको राहत सामग्री लिएर प्रदर्शनी केन्द्र पुग्न थालेका छन् । त्यसका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमासमेत रकम जम्मा भइरहेको छ । पोखरा नयाँबजारका गणेश शाही पनि बाढी प्रभावितका लागि कपडा, भाँडाकुँडालगायत सामग्री लिएर आउनुभएको थियो । प्रभावित क्षेत्रको क्षति असाध्यै ठूलो रहेकाले आफूहरुको सहयोग सामान्य भए पनि पीडामा साथ दिनुपर्छ भन्ने भावना राखिएको शाहीले बताउनुभयो ।“मरेर जाने त गए तर बाँचेकाहरु झन् बढी समस्यामा परेको देखेका छौँ । उनीहरुलाई आफूले सकेको सहयोग गराँै भनेर आएका हौँ । त्यहाँको क्षति हेर्दा हाम्रो सहयोग केही पनि होइन तर पीडामा केही न केही नगरिकन मन मानेन”, शाहीले भन्नुभयो । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पोखरा महानगरपालिकाले नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राहत सङ्कलन केन्द्र स्थापना गरेको छ । महानगरले यही भदौ १४ गतेदेखि राहत सहयोग अभियान सञ्चालन गरिरहेको छ । यो अभियान भदौ १८ गतेसम्म सञ्चालन हुने महानगरले जनाएको छ ।अभियानमा खाद्यान्न, लत्ताकपडा, बन्दोबस्तीका सामग्री, औषधिलगायत आवश्यक सामग्री सङ्कलन भइरहेको छ ।

महानगरले इच्छुक व्यक्ति, सङ्घसंस्था तथा व्यावसायिक प्रतिष्ठानलाई राहत सामग्री उपलब्ध गराउन सार्वजनिक आह्वान गरेको छ ।केन्द्रमा सङ्कलन भएका राहत सामग्री महानगर प्रहरी बलको पृथ्वीचोकस्थित कार्यालयमा जम्मा गरिएको छ । त्यहाँबाट राहत सामग्री आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गरी एकद्वार प्रणालीमार्फत बाढी प्रभावित क्षेत्रमा पठाइने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।उहाँले भन्नुभयो, “विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग गर्न राहत सङ्कलन अभियान सुरु गरेका छौँ । सक्दो सहयोग गर्न नगरवासीमा आह्वान गरेका छौँ । सहयोग जुटिरहेको छ । नागरिकले स्वतःस्फूर्त रूपमा उपलब्ध गराइदिनुभएको छ । हामी सङ्कलित राहत सामग्री प्रभावित क्षेत्रमा छिट्टै पु¥याउने छौँ ।”महानगरले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु ४५ लाख सहयोग गरिसकेको छ । त्यसैगरी अत्यावश्यक सामग्रीसहित स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली बाढी प्रभावित क्षेत्रमा अहिले उद्धार र खोजीका लागि खटिएको छ । भोटेकोशी बाढीबाट प्रभावितका लागि पोखरेलीले राहत सामग्री मात्र नभई आर्थिक सहयोगसमेत गरेका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यहाँका सरकारी निकाय, निजी क्षेत्र, पर्यटन व्यवसायी, विद्यालय तथा व्यापारिक प्रतिष्ठानले स्वःस्फूर्त रुपमा सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206