महेन्द्रनगर: मिर्गौला पीडित बिरामीको चाप बढेपछि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले तेस्रो सिफ्ट (राति) मा पनि ‘डायलाइसिस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
अस्पतालमा डायलाइसिस सेवाका लागि शय्या, मेसिन र जनशक्तिको अभाव हुँदा मिर्गौला पीडित बिरामीलाई सेवा दिन समस्या भइरहेको छ । महाकाली प्रादेशिक अस्पतालका प्रवक्ता डा अर्जुन भट्टले बिरामीको चापअनुसार जनशक्ति, शय्या र मेसिनको व्यवस्थापन गरी सेवा सहज बनाउन प्रयास भइरहेको जानकारी दिनुभयो । “१० वटा बेड छन्, दैनिक १८ देखि १९ जनालाई डायलाइसिस सेवा दिनुपर्ने अवस्था छ”, डा भट्टले भन्नुभयो, “जनशक्ति लगायतका विषयमा संरचना विस्तारका लागि माथिल्लो निकायसँग छलफल भइरहेको छ ।” उहाँका अनुसार दैनिक २० देखि २५ जना बिरामी डायलाइसिसका लागि अस्पताल आउने गरेका छन् । डायलाइसिस सेवामा कार्यरत तथा सम्पर्क व्यक्ति यशोदा गिरीले बिरामीको चापलाई ध्यानमा राखेर दैनिक तीन शत्रमा सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
“अहिले बिहान र बेलुकी गरी दुई सिफ्टमा डायलाइसिस सेवा दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “रातिको समयमा पनि सेवा दिने गरी जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनको काम अघि बढेको छ ।” अस्पतालमा सेवा पाउन नसक्ने अवस्थामा बिरामी धनगढीलगायत अन्यत्र जाने गरेको उहाँले बताउनुभयो ।महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउदले कोरोना महामारीका बेला प्रयोगमा ल्याइएको ल्याबको भवनबाट अहिले डायलाइसिस सेवा सञ्चालन भइरहेको बताउनुभयो । उहाँका अनुसार जनशक्तिको अभावका कारण रातिको सत्र सञ्चालन गर्न सकिएको छैन । “डायलाइसिसका लागि जनशक्तिको निकै अभाव छ”, उहाँले भन्नुभयो, “रातिको सिफ्ट सञ्चालन गर्न प्रदेश र सङ्घीय सरकारसँग आवश्यक जनशक्ति उपलब्ध गराउन आग्रह गरिरहेका छौँ ।” अस्पतालमा डायलाइसिस सेवा लिन आउने बिरामीको चाप अत्यधिक बढेको उहाँले बताउनुभयो ।
