संखुवासभा:संखुवासभाको सदरमुकाम खाँदबारीमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएको छ।
बजारमा ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने, महँगो मूल्य तिर्नुपर्ने र रित्तो सिलिन्डर बोकेर घर फर्किनुपर्ने अवस्था सिर्जना भएको छ।खाँदबारी बजारमा एलपी ग्यासका सात वटा डिलर रहेका छन्। तर ती डिलरहरूबाट उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। सरकारले निर्धारण गरेको मूल्यअनुसार एलपी ग्यासको प्रतिसिलिन्डर २ हजार १५० रुपैयाँ भए पनि खाँदबारीका उपभोक्ताले २ हजार ३ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन्।ग्यास अभावका कारण दैनिक खाना पकाउनेदेखि होटेल तथा चिया पसल सञ्चालनसम्म प्रभावित बनेको छ। उपभोक्ताबाट लगातार गुनासो आएपछि प्रहरीले एक व्यापारीविरुद्ध महँगो मूल्यमा ग्यास बिक्री गरेको आरोपमा कालोबजारीसम्बन्धी मुद्दा चलाएको छ।
तर प्रहरीको कारबाहीपछि कतिपय डिलरहरूले ग्यास बिक्री गर्न सतर्कता अपनाउँदा आपूर्ति झन् प्रभावित भएको स्थानीय उपभोक्ता ईसाक राईले बताए।स्थानीयवासीले ग्यासको वास्तविक समस्या पहिचान गरी नियमित आपूर्ति सुनिश्चित गर्न र बजारको प्रभावकारी अनुगमन गर्न प्रशासनसँग आग्रह गरेका छन्। कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गर्दै तोकिएको मूल्यमा सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन उनीहरूले माग गरेका छन्।निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले सदरमुकाम क्षेत्रमा एलपी ग्यासको अभाव हुन नदिन पहल भइरहेको बताए । ग्यासका सिलिण्डर पर्याप्त मात्रामा ल्याउन समन्वय भइरहेको उनले बताए।
