२५ साउन २०८३, सोमबार

व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

Logo
Pulse Khabar सोमबार, साउन २५, २०८३

भोजपुर: भोजपुरको षडानन्द नगरपालिका–११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला व्यावसायिक कफीखेतीमा रमाइरहनु भएको छ ।

परम्परागत खेतीबाट अपेक्षित आम्दानी नभएपछि वैकल्पिक बालीका रूपमा कफी रोज्नुभएका उहाँले अहिले यसैमा भविष्य देख्न थाल्नुभएको छ ।चौलागाईँले हाल करिब १० रोपनी क्षेत्रफलमा एक हजार बोट अरविका जातको कफी विस्तार गर्नुभएको छ । गत वर्षदेखि व्यावसायिक रूपमा खेती विस्तार गर्नुभएका उहाँले योजनाबद्ध रूपमा उत्पादन बढाउँदै लैजाने बताउनुभयो । अन्तरराष्ट्रिय बजारमा समेत नेपाली कफीको माग उच्च रहेको बुझाइका आधारमा उहाँ कफीखेतीप्रति आकर्षित हुनुभएको हो । “कफीखेतीमा सुरुमा मिहिनेत धेरै लाग्छ, तर उत्पादन राम्रो भयो भने आम्दानी पनि राम्रो हुन्छ”, उहाँले भन्नुभयो । कफीखेती विस्तारमा षडानन्द नगरपालिकाको सक्रिय साथले किसानलाई थप उत्साहित बनाएको छ । नगरपालिकाले कृषि उपकरण, प्राविधिक सहयोग, बिरुवा तथा तालिम उपलब्ध गराउँदै किसानलाई व्यावसायिक खेतीतर्फ प्रेरित गरिरहेको छ । किसानलाई कफीखेतीमा प्रोत्साहन गर्न षडानन्द नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती विस्तार तथा व्यावसायीकरण परियोजना’ सञ्चालन गरेको छ । कफीलाई आयआर्जन र रोजगारीको प्रमुख आधार बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।गत आवमा नगरपालिकाको रु एक करोड ६५ लाख बजेट र किसानको लागत साझेदारीसमेत समावेश गर्दा परियोजनाको आकार रु दुई करोड ८९(उनान्नब्बे) लाख पुगेको कृषि विकास शाखाले जनाएको छ ।

यस कार्यक्रममार्फत कफीखेतीको विस्तार, उत्पादन वृद्धि र बजारसँग जोड्ने पहल भइरहेको छ । कृषि क्षेत्रको व्यावसायीकरण, गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्र सुदृढीकरणलाई केन्द्रमा राख्दै गुणस्तरीय तथा अग्र्यानिक कफी उत्पादन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । उहाँका अनुसार यहाँ करिब पाँच हजार हेक्टर क्षेत्रमा कफीखेती गर्न सकिने सम्भावना रहेको अध्ययनले देखाएको छ ।“नगरको समृद्धिसँगै आयआर्जनमा टेवा पुर्याउने लक्ष्यले कफीखेतीमा जोड दिएका हौँ”, प्रमुख उदासले भन्नुभयो, “राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारको अध्ययन गर्दा कफीको सम्भावना निकै राम्रो देखिएको छ । त्यसैले किसानलाई प्रोत्साहन गर्दै लगानी बढाएका हौँ ।”षडानन्द क्षेत्रमा कफीखेती विस्तारसँगै अन्य किसान पनि यसतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहको लगानी, प्राविधिक सहयोग र किसानको सक्रियताले कफीखेतीलाई दीर्घकालीन आम्दानीको स्रोत बनाउने देखिएको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206