बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ताच्युत गरिएको दोस्रो वर्षदिनमा उहाँका छोरा तथा पूर्व सल्लाहकार सजीब वाजेदले अगस्ट ५ लाई देशको राजनीतिक अस्थिरताको ‘गम्भीर स्मरण’ भएको बताउँदै अवामी लिगले लोकतन्त्र, शान्ति, विकास र समृद्धि पुनःस्थापनाका लागि आफ्नो प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनअघि सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै वाजेदले सन् २०२४ को अगस्ट ५ को घटनालाई आन्तरिक र बाह्य षड्यन्त्रको परिणाम भएको आफ्नो दलको विश्वास रहेको उल्लेख गर्नुभयो । उहाँले त्यस घटनाले बङ्गलादेशको लोकतान्त्रिक निरन्तरतामा गम्भीर अवरोध सिर्जना गरेको र त्यसको प्रभाव राजनीतिक क्षेत्रभन्दा बाहिर राज्यका विभिन्न संरचनामा समेत परेको दाबी गर्नुभयो ।वाजेदले त्यसपछिका दिनमा कानून–व्यवस्थामा आएको चुनौती, आर्थिक विश्वासमा आएको कमी, विदेशी लगानीमा सुस्तता, व्यापारिक गतिविधिमा आएको गिरावट तथा किसान, श्रमिक, शिक्षक, सरकारी कर्मचारी र विद्यार्थीले भोग्नुपरेका कठिनाइलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गर्नुभयो । सार्वजनिक स्वास्थ्य सेवामा समेत दबाब बढेको उहाँको भनाइ थियो । लोकतान्त्रिक स्थिरता, जवाफदेहिता र सुदृढ राज्य संस्थाको आवश्यकता अहिले झन् स्पष्ट भएको उहाँले बताउनुभयो ।
उहाँले जुलाई र अगस्ट २०२४ को हिंसात्मक घटनामा ज्यान गुमाएका राजनीतिक कार्यकर्ता, प्रहरी सदस्य र सर्वसाधारणप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।हाल राजनीतिक गतिविधिमा प्रतिबन्ध खेपिरहेको अवामी लिगले लोकतान्त्रिक प्रणाली पुनःस्थापना गर्न जनतासँग सहकार्य जारी राख्ने उल्लेख गर्दै वाजेदले बङ्गलादेशका नागरिक लोकतन्त्र, विकास, धर्मनिरपेक्ष मूल्य र राष्ट्रिय प्रगतिप्रति प्रतिबद्ध रहेको विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय एकता, धैर्य र जनताको सामूहिक प्रयासबाट देश पुनः स्थिरता र समृद्धिको बाटोमा फर्किने उहाँको भनाइ थियो ।उहाँले न्याय सुनिश्चित हुने, संस्थाहरू सुदृढ रहने तथा शान्तिपूर्ण, लोकतान्त्रिक र समृद्ध बङ्गलादेश निर्माणका लागि सबैलाई एकजुट भएर अघि बढ्न पनि आह्वान गर्नुभयो ।शेख हसिनालाई सन् २०२४ को अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ताबाट हटाइएको थियो ।
त्यसपछि मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो भने यस वर्षको फेब्रुअरीमा सम्पन्न निर्वाचनमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) विजयी भएपछि तारिक रहमान प्रधानमन्त्री बन्नुभएको थियो ।यसैबीच, भारतले शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनसँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले उक्त कार्यक्रम निजी सञ्चार संस्थाले आयोजना गरेको र त्यसमा व्यक्त हुने विचारसँग भारत सरकारको कुनै सम्बन्ध नरहेको बताउनुभयो ।बङ्गलादेशले भने हसिनाको सम्बोधनप्रति आफ्नो चासो भारतसमक्ष राख्दै यसले दुई देशबीच सुधारोन्मुख सम्बन्धमा असर पार्न सक्ने चिन्ता व्यक्त गरेको जनाएको छ । यो विषय बङ्गलादेशका विदेश सल्लाहकार हुमायूँ कबीर र ढाकास्थित भारतीय उच्चायुक्त दिनेश त्रिवेदीबीच भएको भेटवार्तामा पनि उठाइएको थियो ।
